नवराज कँडेल
कोरोना अपडेटको काम
कर्णाली प्रदेशमा २०७७ जेठ ४ गते दैलेख जिल्ला आठबीस नगरपालिका निवासी ३५ वर्षीय पुरुषमा पहिलो पटक कोभिड-१९ संक्रमण पुष्टि भए देखि नै सामाजिक विकास मन्त्रालयबाट हामीले कोभिड-१९ को दैनिक अपडेट शुरु गर्यौं । दिउँसो करिब ३ बजे प्रेस विज्ञप्ति र बेलुका ५ बजे मिडिया ब्रिफिङको शुरुवात भयो । दिनहुँ बिरामीहरु थपिन्थे र निको भई डिस्चार्ज पनि हुन थाले । २०७७ जेठ १७ गते दैलेख जिल्ला दुल्लु नगरपालिका निवासी ३५ वर्षीय पुरुषको पहिलो पटक क्वारेन्टाइनमा बसेकै अवधिमा दु:खद निधन भयो र पिसिआर जाँच गर्दा कोभिड-१९ संक्रमण पुष्टि भयो । पछि मृत्युहरु थपिदै जान थाले ।अहिले साढे छ हजार संक्रमित मध्ये करिब अन्ठाउन्न सय जना निको भई घर फर्किसकेका छन्, सत्र जनाको मृत्यु भएको छ भने पाँच सय भन्दा बढी सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेको अवस्था छ । प्रेस विज्ञप्ति मार्फत् कोभिड-१९ को दैनिक अपडेटले अहिले पनि निरन्तरता पाइरहेको छ ।
कोरोना संक्रमणको
अनुभव
दशैं मनाएर नेपालगंजबाट सुर्खेत फर्किएँ । फर्किए पछि कार्यालयको काममा व्यस्त भएँ ।एक दिन बिहान पख देब्रे भागमा मृगौलाको पत्थरीको दुखाई शुरु भयो । मलाई मृगौलाको पत्थरी पुरानै समस्या हो । बेला-बेलामा दु:ख दिने गर्छ । दुखाई भए पछि एक प्रतिष्ठित शल्यचिकित्सकको परामर्श अनुसार औषधि सेवन गरें । अल्ट्रासाउण्ड गर्दा दुवै तर्फ मृगौलामा पत्थरी रहेको पाइयो । त्यो दिन बेलुका एकदमै जाडो महशुश भयो । भोलिपल्ट देखि बेलुकी पख जिउ तातेको जस्तो भयो र खानामा रुचि कम भयो । लगातार दुई दिन यस्तो समस्या भए पछि २०७७ कार्तिक २१ गते बिहान पिसिआर परीक्षणको लागि नाकबाट स्वाब नमूना दिएँ र चिकित्सकको सल्लाह अनुसार मुत्रमार्गको संक्रमण र डेंगुको प्रयोगशाला परीक्षण गरें । दुवैको नतिजा सामान्य आयो र सोही दिन बेलुका ४ बजे साइकल थ्रेसहोल्ड (सिटी) भ्यालु ३५ सहित पिसिआरको नतिजा पोजिटिभ आएको जानकारी प्राप्त भयो । तत्काल आफुलाई आवश्यक पर्ने औषधि तथा आफैले दैनिक स्वास्थ्य जाँच गर्ने उपकरणहरुको जोहो गरी वीरेन्द्रनगरमा रहेको अशोका होटेल आइसोलेसनमा बसें । मेरो निकटतम सम्पर्कमा रहेका व्यक्तिहरुलाई फोन सम्पर्क गरी आफु संक्रमित भएको र पिसिआर जाँच गर्न सुझाव दिएँ । आइसोलेसनमा बसे पछि धेरै शुभचिन्तकहरुले फोन, म्यासेज तथा सामाजिक संजाल मार्फत् स्वास्थ्य लाभको कामना गर्नुभयो ।
होटेलमा गएको तीन दिन सम्म बेलुकी पख जिउ तातेको जस्तो हुने र खानामा रुचि कम हुने समस्या निरन्तर रह्यो । शरीरको तापक्रम नाप्दा सामान्य नै आउँथ्यो । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत इन्टरनल मेडिसिनमा एमडी उपाधि हासिल गर्नुभएका जनरल फिजिसियन डा. प्रदीप न्यौपानेको चिकित्सकीय परामर्श अनुसार औषधि सेवन गरें । दुई दिनसम्म लगातार दिनको तीन पटक पारासिटामोल र कोडिन फस्फेट मिश्रित औषधिको सेवन पश्चात् त्यो समस्या हरायो र खानामा रुचि हुन थाल्यो । आइसोलेसनको चौथो दिन बिहान ३:०० बजे निद्रा खुल्यो । नाक एक दम सुख्खा भई पोलिरहेको थियो । सोही दिन पानीको बाफ लिने मेशिन मगाएर बाफ लिन शुरु गरें । त्यो समस्या हरायो ।
दिनमा पाँच पटक रक्तचाप, अक्सिजन स्याचुरेसन र शरीरको तापक्रम मापन गरी अभिलेख राखें र चिकित्सकसंग सो बारे परामर्श गरें । अक्सिजन स्याचुरेसन राम्रो रह्यो । डिजिटल पल्स अक्सिमिटरले मापन गर्दा ९६ भन्दा तल गएन । शरीरको तापक्रम पनि सामान्य नै रह्यो l रक्तचाप नियन्त्रित नै रहेता पनि आइसोलेसनको पाँचौं दिन बेलुकी पख रक्तचाप नाप्दा १५२/१०६ देखियो । निकै आत्तिएँ । चिकित्सकसंग परामर्श गरें । राति सुत्नु अघि केही मिनेटको अन्तरालमा तीन पटक जाँच गर्दा १३४/९४ आए पछि अलि ढुक्क भएँ । मलाई डेढ वर्ष देखि उच्च रक्तचापको समस्या भएकोले मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलको सल्लाह अनुसार औषधिको सेवन गर्दै आएको छु । कोभिड-१९ संक्रमण मुक्त भए पछि थप जाँच पडताल पश्चात् औषधि तथा सोको मात्रा मिलान गर्ने सुझाव चिकित्सकले दिनु भएको छ ।
आइसोलेसनको अवधिमा लक्षण अनुसारको उपचारका अलावा चिकित्सकको सुझाव अनुसार साप्ताहिक रुपमा भिटामिन डी चक्कीको सेवन र छतमा बिहान पखको घाम ताप्ने सुविधाको उपयोग गरें । आयुर्वेदिक चिकित्सकको सुझाव अनुसार दिनमा एकपटक गुर्जोको चिया र बेसारपानी र दिनमा दुई पटक च्यवनप्राशको पनि सेवन गरें । यस बीचमा पत्थरीको दुखाई भएन ।
मलाई कोभिड-१९ संक्रमण पुष्टि हुने बेलामा सिटी भ्यालु बढी र करिब नेगेटिभको नजिक रहेकोले आठौँ दिन २०७७ कार्तिक २८ गते पुन: पिसिआर परीक्षणका लागि नाकबाट स्वाब नमूना दिएँ । बेलुका नतिजा नेगेटिभ आयो । कोरोना जितेकोमा शुभचिन्तकहरुबाट बधाई र थप सजकताको लागि सुझावहरु प्राप्त भए । सो दिन होटेलमै बसी अर्को दिन बिहान आवासमा फर्किएँ । यो अवधिभर मलाई रुघा, खोकी र सास फेर्नमा कठिनाई हुने समस्या भएन । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेगेटिभ आएता पनि थप एक हप्ता सेल्फ आइसोलेसनमा रहनेछु ।
अनुभवको जगमा केही
सुझावहरु
कोभिड-१९ नयाँ रोग भएकोले यस बारे धेरै कुराहरु अध्ययनकै क्रममा रहेका छन् । यसको प्रभावकारी औषधि पत्ता लागिनसकेको र खोप क्लिनिकल ट्रायलको अन्तिम अवस्थामा रहेको अवस्था छ । अहिलेको अवस्थामा रोगबाट बच्न जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड अपनाउनुको विकल्प छैन । जनसमुदायबाट विश्व स्वास्थ्य संगठनद्वारा सिफारिश गरिएको कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्ने, सर्जिकल वा तीन तहको कपडाको मास्कको प्रयोग गर्ने र समय-समयमा कम्तीमा २० सेकेन्ड सम्म साबुनपानीले मिचिमिची हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने एसएमएस विधिको पालना अहिलेको टड्कारो आवश्यकता देखिएको छ । हामी पारिवारिक जमघट तथा भीडभाड हुने ठूला चाडपर्व मध्ये दशैं भर्खरै सकिएको र तिहार लगायत चाडपर्वहरु मनाउने क्रममा रहेकोले विशेष सावधानी अपनाऔं । निकटतम सम्पर्कमा रहेका व्यक्तिहरुमा कोभिड-१९ संक्रमण देखिए पश्चात् र ज्वरो आउने, खोकी लाग्ने, सास फेर्नमा कठिनाई हुने, स्वाद र गन्ध थाह नहुने जस्ता लक्षणहरु देखिए पश्चात् प्रयोगशाला परीक्षण गराऔं र संक्रमण पुष्टि भए पछि नेपाल सरकारले जारी गरेको मापदण्ड अनुसार आइसोलेसनमा बसौं र सो अवधिमा चिकित्सकको सल्लाह सुझावको पालना गरौँ । कोभिड-१९ मा सबै भन्दा महत्वपूर्ण कुरा उच्च मनोबल रहेको छ । उचित खानपान, उपचार तथा सकारात्मक सोच भयो भने कोभिड-१९ लाई परास्त गर्न सकिन्छ । पछिल्लो राष्ट्रिय तथ्यांक हेर्दा पनि करिब ८२ प्रतिशत निको भएर घर फर्किएको र शुन्य दशमलव छ प्रतिशतको मात्र मृत्यु भएको र बाँकी सक्रिय बिरामी विभिन्न आइसोलेसनमा उपचाररत रहेको देखिन्छ । मृत्युदर हेर्दा एक प्रतिशत भन्दा कम रहेको छ जुन अन्य जनस्वास्थ्य महत्वका रोगहरुको दाँजोमा कम नै हो ।
डिजिटल पल्स अक्सिमिटरबाट घरैमा अक्सिजन स्याचुरेसनको जाँच गरी ९४ प्रतिशत वा सो भन्दा कम भएमा तुरुन्त अस्पताल भर्ना भई बेलैमा अक्सिजन आपूर्ति हुन सके र चिकित्सकको सल्लाह अनुसार ज्वरो, खोकी, पखाला आदि समस्याको लक्षण अनुसार गरिने उपचार समयमै पाई जटिलता आउनै नदिने र स्वास्थ्यमा आउने जटिलताको समयमै पहिचान गरी उचित उपचार पाउन सके अकालमा ज्यान गुमाउनु पर्दैन ।
(लेखक सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतमा स्वास्थ्य शिक्षा अधिकृत पदमा कार्यरत छन् ।)
2077/०७/30, दिउँसो २:०० बजे
वीरेन्द्रनगर ८, सुर्खेत
No comments:
Post a Comment