Saturday, August 29, 2015

गजल (गामबेसीमा अँध्यारो छ ..)

                            गजल

                                               - नवराज कँडेल

गामबेसीमा अँध्यारो छ प्रकाश बोकेर आउनुहोला
पत्याउँदैनन् मान्छेहरु विश्वास बोकेर आउनुहोला

पोहोर साल पहिरो गयो यसपालि चैं खडेरी भो
तारजाली नहरनाला विकास बोकेर आउनुहोला

साहिलो दाई मुग्लान पस्यो भोकमरीले भाउजु खसिन्
अविलम्ब गास, बास र कपास बोकेर आउनुहोला

ढल्या'छैन अझै पनि पर्खाल त्यो विभेदको
समानताको एउटा खुल्ला आकाश बोकेर आउनुहोला

सुक्दै गा'छिन् बुढी आमा सन्तानको पीर गरी
भाइ-भाइमा मेल छैन समास बोकेर आउनुहोला

धुरी माथि कावा खान्छन् गिद्ध अचेल दिनरात
गाउँघरमा सुशान्तिको आभाष बोकेर आउनुहोला

जुन माटोले हजुरलाई हुर्काई संसार चिनाएथ्यो
त्यहाँ थोरै परिवर्तनको सुवास बोकेर आउनुहोला

२०६०/०२/२९
शान्तिनगर-३, दाङ

(रामेश्वर पुस्तकालय तथा वाचनालय, भरतपुर-२, क्षेत्रपुर, चितवनद्वारा मिति २०६०/०५/२७ मा आयोजित खुल्ला गजल वाचन प्रतियोगितामा प्रतियोगी भई प्रथम भएको गजल) 

No comments:

Post a Comment