Monday, August 17, 2015

कविता (अब उत्साहको सुनगाभा फुल्नुपर्छ)


                                    - नवराज कँडेल 
मेरो गाउँमा
मेरो बस्तीमा
आसुँ बगेको बग्यै छ
वेदना उर्लेको उर्ल्यै छ
र, खोल्सामा जमेको विरहको पोखरी
निकासको पर्खाइमा छ
अब निकास चाहिएको छ बाँच्नुको
अर्थ चाहिएको छ आस्था साँच्नुको
अब यहाँ क्रन्दनको डिलबाट
सान्त्वनाको कुलो होइन
साथको कर्णाली बग्नुपर्छ
मुटु चिरिएको रोदनसँगै
जिउने संकल्पको रापती उर्लिनुपर्छ
मेरो आँगनीमा
मेरो टोलमा
हाहाकार मच्चिएको छ जिउनुसँगै
जिउनुको पीडासँगै
र, पीडाको आर्तनादसँगै
त्यसैले
अब आसुँको पातुखोलो होइन
संघर्षको बबई उर्लिनुपर्छ
निराशाको तीतेपाती होइन
उत्साहको सुनगाभा फुल्नुपर्छ
संकल्पको लालीगुराँस झुल्नुपर्छ

२०६१/०२/१५
शान्तिनगर-३, दाङ

No comments:

Post a Comment