- नवराज कँडेल
विद्यार्थी राजनीतिबाट उठेको विश्वरुप यस पटकको चुनावमा निर्वाचित
भई मन्त्री हुने अवसर पाएको थियो । यो सफलता सम्म पुग्न उसले गरेको संघर्षको फेहरिस्त
नै थियो । पदबहाली लगत्तै उसले जनता माझ पुगेर समस्या र पिरमर्का बुझ्ने प्रयास गर्यो
। बजेट विनियोजन गर्दा समेत विशेष चनाखो भई समर्पित भएर लाग्यो । फलस्वरूप धेरै योजनाहरु
उसले प्रस्ताव गरे अनुसार नै आए तर केही योजनाहरुमा बजेट कम भएकोले कनिका छरेजस्तो
पनि भयो । विश्वरुप जुझारु नेता भएता पनि शासन संचालनमा त्यति अनुभवी थिएन । तापनि
उत्कृष्ट नतिजाको लागि भरमग्दुर प्रयत्न गर्यो । कार्यान्वयनको चरणमा पुग्दा सम्म
प्रतिपक्ष मात्र होइन आफ्नै दल भित्रबाट र कर्मचारीतन्त्रबाट हुने अवरोध र असहयोगलाई
पनि राम्रोसँग अनुभूत गर्यो । विश्वरुप र उसको टिम भने अनुसार योजना पार्न सफल भएकोमा
खुशी र दङ्ग थिए । त्यो आर्थिक वर्ष सकियो । कार्यक्रमहरुको समीक्षा भयो । विश्वरुपले
थाह पायो कि त्यो वर्ष रातो किताबमा भएका धेरै योजनाहरु कार्यान्वयन हुन नसकी बजेट
फ्रिज गएको रहेछ । आज ऊ र उसको टिम त्यसका कारणहरु खोतल्नमा तल्लीन छ ।
२०८०/०४/०४
वीरेन्द्रनगर-७, सुर्खेत
No comments:
Post a Comment